दफा ११
कार्यान्वयन समितिको गठन
(१) अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय वित्तीय कारोबार गर्नको निमित्त अनुमतिपत्र प्रदान गर्न तथा त्यस्ता संस्थाले सञ्चालन गर्ने वित्तीय कारोबारलाई व्यवस्थित गर्नको लागि देहायका सदस्यहरू रहेको एक अन्तर्राष्ट्रिय वित्तीय कारोबार कार्यान्वयन समितिको गठन हुनेछः–
(क) गभर्नर, नेपाल राष्ट्र बैंक –अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय –सदस्य
(ग) सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय –सदस्य
(घ) चार्टर्ड एकाउन्टेन्टहरूमध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना –सदस्य
(ङ) अर्थविद्हरूमध्येबाट नेपाल सरकारले मनोनित गरेको एक जना –सदस्य
(२) कार्यान्वयन समितिले अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा संलग्न स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई कार्यान्वयन समितिको बैठकमा पर्यवेक्षको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(३) उपदफा (१) को खण्ड (घ) र (ङ) बमोजिम मनोनित सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
(४) कार्यान्वयन समितिले नेपाल राष्ट्र बैंकको सहमति लिई तोकिदिएको उक्त बैंकको कुनै अधिकृत कर्मचारीले कार्यान्यन समितिको सचिव भई काम गर्नेछ ।
(५) कार्यान्वयन समितिको कार्यालय नेपाल राष्ट्र बैंकमा रहनेछ ।
(६) कार्यान्वयन समितिको बैठकसम्वन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(७) कार्यन्वयन समितिका सदस्यहरूले तोकिएबमोजिमको भत्ता तथा सुविधा पाउने छन् ।